दुबईमा कार धुने भरत विकले लक्की ड्रमा जिते ३५ करोड

- Advertisement -

दुबईमा कार धुने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका छन् ।

दुबईको प्रतिष्ठित सञ्चारमाध्यम ‘खालिज टाइम्स’ का अनुसार मासिक एक हजार तीन सय दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् । दुई सन्तानका पिता भरत तीन वर्षअघि दुबई आएका हुन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको

उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए । उनका बुबा भारतमा ड्राइभरको काम गर्छन् । ‘मेरो भाइ भारतको नयाँ दिल्लीमा उपचार

गराइरहेको छ,’ उनले भने, ‘एउटा शल्यक्रियाको क्रममा उसलाई पक्षाघात भयो र कान गुम्यो । यो पैसाले मलाई उसको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ ।’

भरत आफ्ना पाँचवर्षीय छोरा र तीन वर्षीया छोरीको भविष्य सुरक्षित गर्न उक्त रकम प्रयोग गर्न चाहन्छन् । उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिए ।

उनको दुबईमा बैंक खातासमेत छैन । महजुजका सञ्चालक इविङ्सका सिइओ फरिद सामजीले बैंक खाता नभएकाले भरतलाई खाता खोल्न मद्दत गरिरहेको बताए । ‘हामी उसलाई

बैंक खाता खोल्न मद्दत गर्ने प्रक्रियामा छौँ, ताकि हामीले पैसा स्थानान्तरण गर्न सकौँ,’ फरिदले भने । अन्तिमपटक खेल्ने चाहनाले करोडपति बनायो

दुबई आउनुअघि उनी वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब गएका थिए । दुबई आएपछि भने गत साढे दुई वर्षदेखि उनी महजुजका नियमित खेलाडी थिए । २७ सेप्टेम्बर २०१९ मा दुबई आएका

भरत नेपाल फर्कने योजनामा थिए । तर, गत शनिबार अन्तिमपटक उनले लक्की ड्र खेल्ने निर्णय गरेका थिए । ‘पहिलोपटक दुबई आउँदा मेरो मनमा नेपाल फर्किनुअघि केही जित्छु

भन्ने भावना थियो । यही विश्वासले उनलाई साप्ताहिक ड्रको प्रयास गर्न बाध्य बनायो,’ उनले भने, ‘त्यो बिहानको एक बजिसकेको थियो । अन्तिमपटक खेल्छु भन्ने सोचेर भाग लिएँ ।

मेरो लागि त्यो साँच्चै सपना साकार गर्ने समय थियो ।’ उनले त्यही रात आफ्नो भाग्य बदलिएको चाल पाए । गत शनिबार राति ९ बजे काम सकेर भरत फर्कंदै थिए । फोन चेक

गर्दा दुईवटा नम्बर मिलेको देखे । ‘मैले बाँकी ड्र लाइभ हेरेँ,’ उनले भने, ‘मेरा साथीहरू मसँगै थिए । प्रत्येक नम्बर मिल्दा उनीहरू उत्साहित भए । अन्तिम नम्बर मिलाउँदा उनीहरू

हर्षोल्लास र खुसीले चिच्याए । त्यो रात म निदाउन सकिनँ ।’ परिवारलाई सरप्राइज दिने चाहना भरतले अब लगत्तै नेपाल फर्कने बताएका छन् । ‘अब सबै औपचारिकता पूरा गरेर नेपाल जान्छु,’ उनले भने, ‘मैले

कति जितेको छु भनेर मेरो परिवारलाई भनेको छैन । मैले यो ड्र जितेको मात्रै भनेको छु । म घर फर्केर व्यक्तिगत रूपमा उनीहरूलाई आश्चर्यचकित गर्न पर्खिरहेको छु ।’

उनले ठूलो धनराशि जिते पनि पछि दुबई फर्केर काम गर्ने चाहना व्यक्त गरेका छन् । ‘दुबई त्यो सहर हो जसले मलाई मेरो जीवनमा धेरै दिएको छ । म फर्केर यहाँ काम गर्न चाहन्छु । म महजुज खेल्न पनि चाहन्छु,’ उनले भावी योजना सुनाए ।
महजुजको शीर्ष पुरस्कार जित्ने भरत पहिलो प्रवासी नेपाली हुन् ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार