बिहेको पन्ध्रौं दिनमा कोरोनाले बिते पति


आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्यान गुमाए । त्यसमध्येमा दीपक पनि एक थिए ।
रुपन्देही — परिवारले वैशाख १५ का लागि बिहेको लगन छिने ।

तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडिकलमा रगत जाँचपछि टाइफाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो । स्लाइन चढाइयो । उनको स्वास्थ्यमा सुधार आएन । पुनः उपचारका लागि गए पनि पूरा औषधि खाएपछि निको हुन्छ



भनेर मेडिकल सञ्चालकले फर्काइदिए । उता बिहेको तयारी चल्दै थियो । सन्चो नभए पनि औषधिको भरमा सीमित जन्तीसहित दीपक दुलही लिन गए । गुल्मीबाट केटी पक्ष बुटवल आएका थिए ।

थोरै सहभागी भएर बिहे टुंग्याउने सल्लाह थियो । बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर फर्किए । बिहेकै साँझ बिरामले च्यापेपछि दीपकलाई उनका दाइले लुम्बिनी प्रादेशिक

अस्पताल पुर्‍याएर पीसीआर परीक्षण गराए । अर्को दिन रिपोर्ट पोजिटिभ आयो । ‘घरमै हेरचाह गरौंला भनेर अक्सिजनसहित घर आयौं,’ उनका दाइले भने, ‘घरमा ल्याउँदा ज्वरो र खोकी थिएन ।’

भोलिपल्ट दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि दीपकलाई मेडिटेक अस्पताल पुर्‍याइयो । अक्सिजन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल लगियो ।

एक रात अक्सिजनसहित आइसोलेसनमा राखिए पनि अवस्था नसुध्रिएपछि भोलिपल्ट आईसीयूमा सारियो । १० दिनदेखि उनको आईसीयूमा उपचार चलिरहेको थियो ।



तर वैशाख २९ को साँझ ५ बजे एकाएक अस्पतालमा अक्सिजन सकिएको भन्दै नर्स आत्तिए । आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्यान गुमाए । त्यसमध्येमा दीपक पनि एक थिए ।

भाइको मृत्यु हुनुमा मेडिकल सञ्चालक र कोरोना अस्पतालको लापरबाही कारण रहेको उनका दाजुको आरोप छ । ‘आफैं व्यवस्थापन गर्नुस् भनेर पहिले नै भनेको भए खोजेर ल्याउँथ्यौं ।

त्यति छोटो समयमा अक्सिजन खोज्न सकिएन,’ दाइले भने, ‘सरकारले भाइको हत्या गर्‍यो ।’ निमोनिया भइसकेका भाइलाई मेडिकल सञ्चालकले टाइफाइड भनेर औषधि दिँदा पनि उपचारमा विलम्ब भएको उनको भनाइ छ ।

दाजुभाइको मृत्यु: बुटवलमा गत वैशाख ११ मा दाइको छोरीको विवाहमा सहभागी भएर गुल्मी चारपालास्थित घर पुगेका ५० वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखियो ।

परिवारले तम्घास ल्याएर पीसीआर परीक्षण गराए । जिल्ला अस्पतालले उनको शरीरमा अक्सिजन लेभल घटिसकेकाले कोभिड अस्पताल लैजान सुझायो । बुटवलमा बेड नपाएपछि

चितवनको भरतपुर पुर्‍याइयो । एक दिन आईसीयूमा राख्दा समस्या कम नभएपछि भेन्टिलेटरमा सारियो । उनकी आफन्तले भनिन्, ‘दुई दिन भेन्टिलेटरमा राखियो तर बचाउन सकिएन ।’

मृतकका भाइ पनि संक्रमित थिए । बुटवल–११ देवीनगरका ४५ वर्षीय उनको पनि भरतपुरमै शनिबार मृत्यु भएको छ । उनलाई गत वैशाख ९ देखि ज्वरो आउने, जीउ दुख्ने समस्या थियो । त्यसपछि स्थानीय मेडिकलबाट

औषधि ल्याएर खान थाले । उनलाई मधुमेह र जन्डिस पनि थियो । उनलाई वैशाख १२ गते बुटवलको एक निजी अस्पताल लगियो । चिकित्सकले अक्सिजनसहितको

अस्पताल रेफर गरे तर पीसीआर रिपोर्टबिनाअस्पतालले भर्ना लिन मानेन । परिवारले त्यही रात लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा कोरोना देखियो । उनी सिकिस्त हुँदै गए ।

चिकित्सकले तत्काल आईसीयू चाहिने बताए । दुई दिनसम्म पर्खिंदा पनि बेड खाली भएन । त्यसपछि उनलाई भरतपुर लगियो । आफन्तका अनुसार भरतपुरमा आईसीयूमा राख्दाराख्दै किड्नी खराब भएको चिकित्सकले बताए ।’ दुई दिन आईसीयूमा राखेर भेन्टिलेटरमा सारिएका उनको गत शनिबार मृत्यु भएको हो ।



Leave a Comment